‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ ।
मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो । सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बाजाचार्यले बताए।
उनले भने, “हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चारचार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराइन्छ ।” सो दिन मच्छिन्द्रनाथलाई रथमा राख्ने तयारीका साथ हाल धमाधम रथ निर्माणको काम भइरहेको पुजारी बज्राचार्यले जानकारी दिए।
जात्रा अघि बढाउन ललितपुरका विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, धार्मिक सङ्घसंस्था र स्थानीय व्यक्तिले विशेष पहल गरेका छन् । विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन रहँदा यस वर्ष के गरिन्छ भन्ने टुङ्गो लािगसकेको छैन ।
हरेक वर्ष वैशख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । यस वर्ष भने यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माण गर्ने काम अघि बढेको हो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथयात्रापछि भोटो जात्रा हुन्छ ।