पोखरामा कोरोनाको उपचार गराइरहेका स्याङ्जाका एकजनाको बुधबार राति मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। ८ असारमा अस्पतालमा भर्ना गरिएका उनको स्वास्थ्य बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखिएको थियो।
यसैबीच, गण्डकी प्रदेशमा बिहीबार बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा स्याङ्जाका १ जना, बागलुङका २ जना छन्। त्यस्तै, म्याग्दीका २० देखि ३२ वर्ष उमेर समूहका ६ जना पुरुष छन्। नवलपुरमा संक्रमण पुष्टि हुने २ जना छन् ।
योसँगै गण्डकी प्रदेशमा बिहीबारसम्म ७५३ जनामा कोरोना पुष्टि भएको छ।