गण्डकी प्रदेशमा १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।
गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन्। गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ।
स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको छ। यस्तै पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जना तथा कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन्।