नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, कपिलवस्तुमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने भरतपुरमा गरिएको परीक्षणमा २३ देखि २६ वर्षका चार जना र राप्तीमा गरिएको परीक्षणमा विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ। भैरहवामा गरिएको परीक्षणमा १७ देखि ४४ वर्षका १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कचनाकवल गाउँपालिकाका १८ र ४१ वर्ष उमेरका २४ जना र तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण कोशी अस्पताल, विराटनगरमा भएको थियो ।
पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन्। पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका ४ जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका २७ देखि ४५ वर्ष उमेर समूहका चार जनाको रिपोर्ट पोजेटिभ आएको छ।
धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।