नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या यति पुगेको हो।
सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।
बाँकेका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको छ ।
यसअघि शुक्रबार बिहान मात्र ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।