जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् ।
आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो । ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए ।
यसैबीच कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ ।