अत्यधिक ज्वरो आएर वीर अस्पतालमा भर्ना गरिएका दुईजना बिरामीको मृत्यु भएको छ।
आइतवार भर्ना भएका एकजना र आज बिहान भर्ना भएका अर्का बिरामीको उपचारका क्रममा मृत्यु भएको हो।
उनीहरु दुवैलाई कोरोनाको आशंकामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमण भएका बिरामीलाई पनि उच्च ज्वरो आउनुका साथै श्वास फेर्न कठिन हुने लक्षण देखिन्छ। अस्पताल श्रोतका अनुसार दुवैजनालाई उच्च ज्वरो आएको थियो।
मृत्यु भएका दुवैजनाको स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएको छ। मृत्यु भएकी चन्द्रागिरी नगरपालिका १५ निवासी ३४ बर्षीया एक महिलालाई बेहोस अवस्थामा आज अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरुले लक्षणका आधारमा उनमा कोरोना आशंका गरेका थिए।
गतसाता भारतबाट नेपाल आएकी उनलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो। अत्यधिक ज्वरो आएको भन्दै ल्याइएकी युवतीलाई बिहानपख निमोनियाको लक्षण देखिएको थियो।
सोमबार बिहान भर्ना गरिएका अर्का एकजना ५० वर्षीय पुरुषको पनि ज्यान गएको छ। उनी हालैमाात्र भारतबाट आएको बताइएको छ। उनमा पनि ज्वरो अत्यधिक आएको थियो। उनको पनि स्वाब परीक्षणका लागि टेकु अस्पतला पठाइएको छ। दुबैको रिपोर्ट आउन कम्तिमा ४८ घण्टा लाग्नेछ।