नेपालमा पाँचौं कोरोना संक्रमित भेटिएको छ । चैत्र ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो । काठमाडौं उपत्यका बाहिरकी उनी अहिले चिकित्सकको संम्पर्कमा रहेको र उनको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस सम्मेलन मार्फत जानकारी गराएका हुन् ।
हालसम्म ८ सय ७५ वटा टेस्ट गरिएको र त्यसमा ३२ वटाको परिक्षण भइरहेको जनाइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटा अनुसार टेकु अस्पतालको आइसोलेसनमा १० जना बिरामी रहेका छन् । ती मध्ये ४ जना आइसोलेसनमा र ६ जना क्वारेन्टाइनमा रहेका छन् । चार जना आइसोलेसनमा रहेका मध्ये दुई जना पोजेटिभ रहेका छन् । उनले एकजना बाहेक अहिलेसम्म कोही पनि डिस्चार्ज नभएको र उपचारकै क्रममा रहेको समेत स्पष्ट पारे ।
हिजो भेटिएका चौथो संक्रमितको बारेमा पनि मन्त्रालयले थप जानकारी गराएको छ । ती ब्यक्ति २० मार्चमा भिस्टारा एयरबाट दिल्ली हुँदै आएका थिए । उनी दिल्ली चाँही युके १५५ विमानबाट आएका थिए ।उनी हाल धनगढीमा उपचारको क्रममा रहेका छन् ।
कल सेन्टरमा ६ हजार भन्दा बढी कल आएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । १११५ र ११३३ को दुईवटा पैसा नलाल्ने कल सेन्टर अहिले चालु रहेको बताए । यसमा चिकित्सकबाट पूर्ण जानकारी पाइनेछ । आजदेखि धरानबाट पनि परीक्षण शुरु हुनेछ।