भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपत्यकामा अतिक्रमित सरकारी जग्गामा नेपाल सरकारको नाममा रहेको बोर्ड गाड्न सुरु गरेको छ।
मन्त्रालयले आइतबार तीन स्थानमा जग्गा सरकारको नाममा भएको बोर्ड गाडेको छ। मन्त्री पद्मा अर्यालसहित गएको मन्त्रालयको टोलीले काठमाडौं १० मा व्यक्तिले अतिक्रमण गरेको जग्गामा नेपाल सरकारको जग्गा भएको बोर्ड गाडेको हो।
बागमती किनारामा रहेको १० रोपनी आठ आना जग्गा वर्षौ देखि व्यक्तिले प्रयोग गर्दै आएका थिए। काठमाडौं १० आलोकनगरमा रहेको उक्त जग्गामा जयन्त खड्काको परिवारले भोगचलन गर्दै आएका थिए।
सरकारी श्रेस्तामा उक्त जग्गा सरकारको नाममा भए पनि खड्का परिवारले आफ्नो भएको दाबी गर्दै आएका थिए। अदालतको आडमा खड्का परिवारले सरकारी जग्गा प्रयोग गर्दै आएको देखिएको छ। खड्का परिवारले सरकारी जग्गालाई आफ्नो बनाई भाडामा समेत लगाएका थिए। भाडामा लगाएको जग्गामा घर टहरा बनाई जुत्ता फ्राक्ट्री, रेष्टुरेन्ट सञ्चालन गरिएको थियो।
मन्त्रालयको टोली र सुरक्षाकर्मीले टहरा भत्काएका थिए। टहरा भत्काएर सरकारी जग्गा भएको बोर्ड राखेपछि खड्का परिवार मन्त्रीसँग प्रतिवादमा उत्रेको थियो। अदालतमा विचाराधीन मुद्धाको छिनोफानो नहुँदै बोर्ड राखिएको भन्दै उनीहरु आक्रोशित भएका थिए। खड्का परिवारले सरकारी बोर्ड उखेल्ने प्रयास समेत गरे। सुरक्षाकर्मीको बलले बोर्ड हटाइहाल्न भने सकेनन्।
मन्त्री अर्यालले सरकारी जग्गा अतिक्रमण हुन नदिने प्रतिवद्धता जनाइन्। प्रतिवादमा उत्रेको खड्का परिवारलाई स्वामित्व आफ्नो भएको कागजात सरकारी निकायमा ल्याउन समेत चुनौति दिइन्।