चीनले एउटा खाली भवनलाई २ दिनमै १००० बेडको अस्पताल भवनमा परिणत गरिदिएको छ। कोरोना भाइरसका बिरामीको उपचारका लागि ह्वाङग्याङ प्रान्तस्थित डेबी माउन्टेन रिजनल मेडिकल सेन्टरलाई २ दिनमै १ हजार बेडको अस्पतालमा परिणत गरिएको हो ।
उक्त भवनको निर्माण सम्पन्न भए पनि खाली थियो र आगामी मे महिनामा मात्र सन्चालनमा ल्याउने तयारी थियो। तर कोरोना भाइरसका बिरामीको उपचारका लागि अस्पताल बनाउनुपर्ने अवस्था आइपरेपछि रातारात उक्त भवनमा अस्पतालका उपकरण जडान गरिएका हुन्। यसका साथै विद्युत, पानी, इन्टरनेटलगायतका सुविधा पनि जडान गरिएका छन्।
उक्त भवनलाई कोरोना भाइरसको उपचारका लागि उपयोगमा ल्याउने निर्णय गत शुक्रबार भएको थियो। त्यसपछि शनिबार र आइतबार काम गरेर आवश्यक उपकरण जडान गरिएको थियो। सोमबारदेखि त कोरोना भाइरसका बिरामी ल्याउन थालियो।
अस्पताल निर्माणमा निर्माण कम्पनीका कामदार, विभिन्न आवश्यक उपकरण संस्थाका कर्मचारी, अर्धसैनिक बल परिचालित गरिएका थिए।
यससँगै वुहान सरकारले गत बिहीबार एक सातामै कोरोना भाइरस अस्पताल बनाउने घोषणा गरेर युद्धस्तरमा काम भइरहेको छ। यस्ता चार वटा अस्पताल बनाउने चिनियाँ तयारी छ।
चीनको केन्द्र सरकारले कोरोना भाइरसको संक्रमणको लडाइँका लागि देशभरबाट ६ हजार डाक्टर वुहान पठाएको छ।