जावलाखेलस्थित सदर चिडियाखानाले अनलाइन टिकटको व्यवस्था गर्ने भएको छ। अवलोकनकर्तालाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागिएको सदर चिडियाखानाले जनाएको छ । यसबाट लाइन बसेर टिकट काट्ने झन्झट हट्नेछ ।
पहिलोपटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यासरत रहेको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए। अनलाइनबाट टिकट काट्ने व्यवस्थासँगै अवलोकनकर्ताको समय बचत हुनुका साथै कर्मचारी अभावको समस्या पनि टर्ने उनले बताए। टिकट काट्नका लागि भन्दै अहिले दैनिक पाँच कर्मचारी खटिएका छन् । तर आगामी दिनमा एक कर्मचारीले मात्रै अवलोकनकर्तालाई टिकट उपलब्ध गराउन सक्नेछन् ।
प्रवेशद्वारमै सूचना केन्द्र
अवलोकनकर्तालाई ध्यानमा राखेर चिडियाखाना व्यवस्थापनले प्रवेशद्वारमै सूचना केन्द्र स्थापना गरी विद्युतीय सूचनापाटी राखेको छ । सूचनापाटीबाट चिडियाखानामा राखिएका जनावरका बारेमा जानकारी लिन सकिन्छ । दश महिनाअघि स्थापना गरिएको सूचना केन्द्रबाट अवलोकनकर्तालाई निकै सहज भएको छ । सूचनापाटीमार्फत कुनकुन जनावर राखिएको छ?, त्यसको विषेषता के हो, कहाँ पाइन्छ ? पाउन कतिको सहज छ ? के खान्छ ? र कति वर्ष आयु छ ? जस्ता विषयमा जानकारी प्राप्त गर्न सकिने छ ।
त्यसैगरी टिकट लिएर प्रवेश गर्ने बेलामै अवलोकनकर्ताले हाल के कति जनावर रहेका छन् र कुनको सङ्ख्या कति छ जस्ता विषयको जानकारी सहजरूपमा लिन सक्नेछन् । यति मात्रै होइन, कुन जनावर कुन स्थानमा राखिएको छ भनी हेर्नका लागि सहज बनाइएको छ । हाल चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २०० विद्यालयका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् । सूचना केन्द्रलाई यी विद्यार्थीका कारण निकै सहज भएको छ ।