गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई आफूले झापड हान्नु कुनै ठूलो इस्यु नभएको भन्दै कानुनले केही नगर्ने चुनौती दिएका छन्।
मंगलबार एन्फा अध्यक्षलाई मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनपूर्व तीन झापड लगाएपछि बुधबार उनीबिरुद्ध प्रहरीमा उजुरी दिए लगत्तै पत्रकार सम्मेलन गर्दै मनाङेले यस्तो चेतावनी दिएका हुन्।
उनले पूर्वप्रधानमन्त्रीहरुलाई पनि जनताले जुत्ता हानेको दृष्टान्त दिदैं आफूले झापड हानेको कुराको बचाउ गरेका थिए। उनले जनताले पूर्वप्रधानमन्त्रीलाई झापड हानेको स्मरण गराउँदै आफूले एक ठगलाई झापड हान्दा यत्रो इस्यु बनाउनु जरुरी नभएको बताए।
कानुन बनाउने ठाउँमा पुगेको मान्छेले झापड हानेका बारे सोधिएको प्रश्नमा मनाङेले भने, “यही त हो कानुन, झापड । सांसद भएपछि म जोगी जस्तो भएर बुद्ध बनेर बस्नु त, मलाई त ठिकै लाग्छ, तपाईलाई लागेन भने त्यो त तपाईको प्रब्लम भयो।”
उनले आफू गान्धी जस्तो नभएको भन्दै रावणतिर परेको र झापड हान्दा मज्जा लागेको बताए। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई झापड हान्न खोजेको तर शेर्पा त्यहाँ नभएका कारण मिलन गुरुङले झापड खान परेको उनको भनाइ थियो।