चीनमा फैलिरहेको कोरोना भाइरसको असर दक्षिण एशियाली मुलुकमा पनि पर्ने खतरा देखिएको छ। यसका लागि विभिन्न मुलुकले सतर्कता अपनाउन थालेका छन् भने नेपालले पनि अन्तर्राष्टिय विमानस्थलमा ज्वरो परीक्षण थालेको छ।
श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै नेपालले पनि उच्च सतर्कता अपनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको जनाएको छ। विमानस्थलको हेल्थ डेस्कले प्रभावित राष्ट्रबाट आएका व्यक्तिको विवरण संकलन गर्ने र विभिन्न अस्पतालसँग समन्वय गरिरहेको जनाइएको छ।
कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने लक्षण देखिन्छ।
चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने करिब ३ सय जना संक्रमित भएका छन्।
यो भाइरसको संक्रमण चीनको उहान‚ बेइजिङ र साङ्घाइमा फैलिएको छ। यसैगरी दक्षिण कोरिया‚ थाइल्याण्ड र जापानमा पनि संक्रमित हुनेको संख्या ४ पुगेको बताइएको छ।
चिनिया पर्यटनका लागि यो सिजन एकदमै महत्वपूर्ण मानिन्छ। विश्वभरका लाखौं पर्यटक घुम्नका लागि चीन जाने भएकाले उनीहरूको माध्यमबाट अरु देशमा पनि सो भाइरस सर्न सक्ने बताइएको छ।
यसअघि सन् २००२ मा चीनबाट फैलिएको सार्स भाइरसको संक्रमण २६ देशमा फैलिएको थियो। जसबाट ८ हजारभन्दा बढी मानिसहरू संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो।
अचानक फैलिएको कोरोना भाइरसको विषयलाई लिएर गत बुधबार विश्व स्वास्थ्य संगठनको आपतकालीन बैठक बसेको थियो। उक्त भाइरस पशुपन्छीका माध्यमबाट सरेको हुन सक्ने अनुमान गरेको छ।
चिनिया राष्ट्रपति सि चीन फिङले नागरिकको सुरक्षालाई मध्यनजरमा राख्दै यसबाट निम्तने महामारीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्। उनले समयमै यसको बारेमा सबैलाई जानकारी दिएर अन्तर्राष्ट्रिय सहयोगमा यसको नियन्त्रण गर्नुपर्ने बताए।
‘यसको लक्षण फ्लुसंग मिल्दोजुल्दो हुन्छ, त्यसैले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क रहनुपर्छ।