‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नाराका साथ आज(मंगलबार)देखि २ दिने राष्ट्रिय युवा सम्मेलन ललितपुरमा सुरु भएको छ ।
सम्मेलनमा समाज रुपान्तरणमा युवाहरुको योगदान तथा अपरिहार्यताको बारेमा छलफल हुनुका साथै लैंगिक समानता, महिला सशक्तिकरण र हिंसा न्यूनीकरणको क्षेत्रमा युवा परिचालन गर्ने बारेमा पनि छलफल चलिरहेको छ । यसका साथै लैगिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासहरुका महत्वपूर्ण उपलब्धिलाई पनि छलफलमा विषय बनाइएको छ ।
सम्मेलनको उद्घाटन गर्दै एसिड पीडित १४ वर्षीय मुस्कान खातुनले महिला भएकै आधारमा कोही पनि कुनै पीडामा पर्ने वातावरण अन्त्य गर्नुपर्नेमा जोड दिइन् । आफूलाई समाजमा बाहिर निस्कन नदिने अभिलाषाकासाथ अपराधीले एसिड प्रहार गरेको भए पनि उसलाई चुनौती दिन आफू जस्तै एसिड पीडितको पक्षमा आवाज उठाउन देशैभर पुग्ने खातुनले प्रतिबद्धता जनाइन् ।
‘जस्ले एसिड छ्याप्यो उसले मलाई समाजमा बाहिर निस्कन नदिने उदेश्य राखेको थियो, तर उसको उदेश्य पूरा हुन नदिन म आफू जस्तै पीडितका लागि आवाज उठाउछु ।’ खातुनले प्रदेश २ सरकारले चलाई रहेको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान प्रति लक्षित गर्दै पहिला पढ्न जाने वातावरण बनाउन आग्रह समेत गरिन्। ‘बेटी बचाउ बेटी पढाउ’ भन्ने नारा लिएको छ प्रदेश सरकारले तर पढ्न जाँदा यस्तो हुन्छ कसरी पढ्ने ?,’ उदले प्रश्न गर्दै भनिन्, ‘दोषीलाई कडा भन्दा कडा सजाय भए पो हामी निर्धक्कसँग पढ्न सक्छौँ ।’
खातुनले सरकारले आफूजस्तै एसिड पीडितका लागि सरकारले शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गर्न माग पनि गर्नु भयो । कार्यक्रममा प्रतिनिधिसभा सुशासन समितिको सभापति शशी श्रेष्ठ, महिला अधिकारकर्मी वन्दना राणा, दुर्गा घिमिरे, मेधा शर्मा लगायतले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि भए पनि अझै समानता हात पर्न नसकेको बताए । नेपाल सरकार राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपाल र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको हो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्लाका २ सय जना युवाको सहभागिता रहेको छ । सम्मेलन युवाहरुको आह्वान र प्रतिबद्धतासहितको घोषणा पत्र तयार पारेर सरोकारवालालाई हस्तान्तरण गर्दै बुधबार सम्पन्न हुनेछ ।