गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ। गायिका राउतलाई आइतबार प्रहरीेले झिकाएर अनुसन्धान गर्ने तयारी गरेको छ। यसका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने बताइएको छ।
उनीबिरुद्ध अभद्र व्यबहारको कसुरमा मुद्धा चलाउन लागिएको हो।
त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यबहार गरेको आरोप लागेकी राउतमाथि गालीगलौज र अभद्र व्यबहार कसुरमा मुद्धा चलाउन लागेको हो। कानुन अनुसार अभद्र व्यवहार कसुरमा प्रमुख जिल्ला अधिकारीले आरोपितलाई कैद र जरिवाना गराउन सक्छन्।
पीडित जवान रमिताले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार राउतविरुद्ध उजुरी दिएकी थिइन्। उजुरीको व्यहोरा र सीसीटीभी फुटेजका आधारमा महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको थियो।
महानगरीय प्रहरी कार्यालयले राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो।
ऐनको सो दफामा भनिएको छ, ’कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’