रूकुमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ।
आठबीसकोट–३ का वडा अध्यक्ष केशरमान विकका भाइ गोपालले केसी र चन्दमाथि बुधबार कुटपिट गरेका हुन्। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्ष बिवलाई पक्राउ गरेको छ।
कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा बुधबार साँझ ६ बजेतिर आठबीसकोट–९, राडीज्युलामा आफूहरुमाथि कुटपिट भएको उनीहरुले बताएका छन्। गोपाल समूहले चेनले आक्रमण गर्दा केसीको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा पाँच टाका लगाइएको छ। चन्दलाई भने सामान्य चोटपटक लागेको छ।
प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्षकै योजनामा कुटपिट गरिएको बताएका छन्। आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडकखण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि विवाद भएको र त्यसकै रिस फेर्न आक्रमण भएको केसीले बताए।