जिल्ला सदरमुकाम मार्तडीपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र कोल्टी दुर्गन्धित बन्दै गएको छ । बजार व्यवस्थापनमा कसैको चासो नदिँदा दुर्गन्ध बढेको हो । ढलको पानीले सुक्खा मौसममा पनि कोल्टीबजार हिलाम्मे बनेको छ । बजार अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
स्थानीय तहले ढल निकासका लागि कुनै पहल नगरेको सर्वसाधारणको गुनासो छ । स्थानीय बासिन्दाले हरेक साता सफाइ गरे पनि फोहोर व्वस्थापन भएको छैन । स्थानीय व्यापारी सञ्जय रोकायाले फोहोर व्यवस्थापनमा स्थानीय तहले वास्ता नगरेको गुनासो गरे ।
यहाँका बासिन्दाले ३ वर्षदेखि बिजुली र २ वर्षदेखि पानीको समस्या व्यहोर्नुपरेको छ । यस्तै मुख्य बजारमा जताततै सवारीसाधन पार्किङ हुँदा सर्वसाधारणका लागि हिँड्ने बाटोसमेत छैन । मार्तडी-कोल्टी सडकको मुख्य केन्द्रका रुपमा रहेको कोल्टीबजारको अघदेखि नै खच्चर हिँड्ने सडक, त्यही अव्यवस्थित सवारी पार्किङले बजार झन् अव्यवस्थित बनेको अगुवा सर्पलाल गिरी बताउँछन् ।
नगरपालिकासँग पटकपटक आग्रह गर्दा पनि ध्यान नदिएको उनको भनाइ छ । नगरपालिकाले त्यसका लागि आवश्यक पर्ने ठूलो बजेटको व्यवस्थापनमा जुटेको आश्वासन दिएको छ । कोल्टीलाई व्यवस्थित गर्न आवश्यक पहल भइरहेको र केन्द्र सरकारलाई माग गरेकाले केही महिनामै यसको समाधान निस्कने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताउँछन् । -रासस