ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि अशान्त बनेको कोहलपुरमा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
स्रोतका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगती चन्दलाई आइतबार बिहान कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि ठक्कर दिंदा उनको खुट्टा भाँचिएको थियो।
यो घटनापछि आक्रोशित विद्यार्थीले ट्रकमा ढुुंगामुढा गरेपछि विद्यालयभित्र पसेर प्रहरीले विद्यार्थीलाई पिटेको थियो। केही विद्यार्थीलाई पक्राउसमेत गरेको थियो।