रामेछापको दुरागाउँका ९ वटा विद्यालयका १ हजार २ सय विद्यार्थी शुक्रबार निक्कै खुसी भए। त्यस दिन विद्यार्थीमात्र खुसी भएनन् शिक्षक र कर्मचारी पनि उत्तिकै खुसी थिए। विद्यार्थी खुसी थिए, जाडोमा लगाउने न्यानो कपडा पाएर भने शिक्षक कर्मचारी विद्यालयमा कम्प्युटर पाएर।
विद्यार्थी र शिक्षकहरुलाई खुसी बनाउने त्यो क्षण रामेछापकै एक अभियान्ताले जुटाएका हुन्। रामेछापको सुनपाति गाउँपालिकाका भरतप्रसाद चौलागाई बिगत केही बर्षदेखि यस्तै अभियानमा जुटेका छन्। जुन अभियानलाई यो बर्षको जाडोमा पनि निरन्तरता दिएका छन्, आफ्नै खर्चमा।
गत शुक्रबार लिखुतामाकोशी गाउँपालिका वडा नं. १ दुरागाउँका विद्यालयहरुमा पुगेर उनले विद्यार्थीलाई न्यानो कपडा र विद्यालयमा १० थान कम्प्यूटर बितरण गरेका छन्।
रामेछाप कांग्रेसका नेता चौलागाई महाधिवेशन प्रतिनिधिसमेत हुन्। तर उनले न्यानो कपडा वितरणका क्रममा राजनीतिक कुरा केही गरेनन्। विद्यालयको भौतिक र शैक्षिक विकास नभएसम्म शैक्षिक गुणस्तरमा सुधार नहुने भन्दै देश विकासको लागि सबैभन्दा पहिला शैक्षिक क्षेत्रको विकास गर्न आवश्यक रहेको औल्याए।
चौलागाईँले व्यक्तिगत खर्चमा अहिलेसम्म रामेछापका ६५ भन्दा बढी विद्यालयका करिब ७ हजार बढी विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिसकेका छन्। त्यसक्रममा विद्यालयलाई कम्प्युटर, विद्युतीय हाजिरी मेसीन, सिसि क्यामेरा, शिक्षकलाई झोला, विद्यार्थीलाई पोशाक, कापी कलम लगायतका सामाग्री वितरण गरेका छन्।
शुक्रबार आयोजित कार्यक्रममा नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधि अर्जुन केसी, बिनिता खड्का, कृष्ण महत, कांग्रेस नेताहरु युबराज भट्टराई, जितबहादुर मगर, काजी कार्की लगायतको उपस्थिति रहेको थियो।