पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै नेपाल पत्रकार महासंघले ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’ का अवसरमा यही मंसिर ८ गते उपत्यकासहित सातै प्रदेशमा प्रदर्शन गर्ने भएको छ।
मुलुकमा पत्रकारका हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिइएको घटना न्युन छ। कतिपय अवस्थामा पत्रकारको हत्या गर्ने व्यक्ति वा समूह पहिचान भइसक्दा पनि विभिन्न पक्षले हत्यारालाई संरक्षण दिने गरेकाले कानुनी दायरामा ल्याउन सकिएको छैन। राज्य पक्ष पनि पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउने र दण्डहीनताको अन्त्य गर्ने विषयामा गम्भीर भएको पाइदैन । जसले गर्दा पत्रकारको हत्या गर्ने वा प्रेस स्वतन्त्रता हनन्मा संलग्नले उन्मुक्ति पाइरहेका छन्।
महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएअनुसार नेपालमा २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने ५ जना बेपत्ता अवस्थामा छन् । मारिएका ३७ पत्रकारमध्ये ५ जना पत्रकारको हत्यामा संलग्नलाई कारबाही गरी पीडित पक्षलाई न्याय दिलाइएको छ भने ४ जनाको न्यायिक प्रक्रियामा छ । अन्यको हकमा अझै प्रभावकारी ढंगले कानुनी कारबाही अघि बढ्न सकेको छैन । वेपत्ता भएका ५ जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेका छैन भने पीडित परिवारले न्याय पाएका छैनन्।
त्यस्तै महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ बैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएका छन् । त्यसमा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार संकलनमा अवरोध जस्ता घटनाहरु बढी छन् । यस्तै पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम बढ्दो छ।
द्वन्द्वकाल मारिएका पत्रकारका परिवारलाई न्याय र दोषीलाई कारबाहीका लागि नेपाल पत्रकार महासंघले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भए पनि गम्भीर छानबिन र थप प्रक्रिया अघि बढ्न सकेको छैन । त्यस्तै वेपत्ता पत्रकारको हकमा पनि सत्यतथ्य पत्ता लगाउने विषयमा ठोस प्रगति भएको पाइदैन।
मंसिर ८ गते राजधानीको हकमा काठमाडौंको नयाँ बानेश्वर चोकमा अपरान्ह ४ः०० बजे र अन्य सातै प्रदेशको हकमा तोकिएको स्थान र समयमा सक्रिय रुपमा सहभागी भइदिन महासंघले पत्रकार, नागरिक समाज, मानवअधिकारवादी तथा प्रेस स्वतन्त्रताका पक्षधर सबैमा आव्हान गरेको छ।