प्युठान, सल्यान, सप्तरी र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिका-४ मनखोला भिरस्थित सडकमा भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको ग।२ च ५२४९ नम्बरको बलेरो गाडी सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार हाल नाम, थर, वतन नखुलेकी १ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भिगृ हुँदै थप उपचारको लागि भैरहवातर्फ पठाइएको छ ।
यस्तै सल्यानकाे त्रिवेणी गाउँपालिका-४ बडागाँउमा रा.१ ज.४३२ नम्बरको जिप अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार सोही गाउँपालिका फालावाङ बस्ने ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापाको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता,सप्तरीकाे बोदेबर्साईन नगरपालिका(२ बैरियास्थित सडकमा को।२३ प।५४० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय रामप्रसाद साहको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बिहीबार दिउँसो बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता,बाराकाे कलैया उपमहानगरपालिका-२३ मोतिसर चोकमा ना.७ त २६६ नम्बरको ट्याक्टरले ना.३ प ५१३७ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय बिनोद साहको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।