काठमाडौं महानगरपालिका (कामपा) ले टुँडिखेल आसपास क्षेत्रमा सुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एन्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । काठमाडौं महानगरपालिकाले गत पुस १ देखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, सहिदगेट, आरएनएसी र जमलमा सुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो ।
कार्यक्रम सुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकहरु ट्राफिक प्रहरीका आँखा छली सवारीसाधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुनसकेको छैन । जसका कारण जामको समस्या ज्यूँका त्यूँ देखिन्छ । आफ्नो गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने हुँदा कामपाले यस किसिमको व्यवस्था गरेको थियो ।
‘पिक एन्ड ड्रप’ कार्यक्रमले जामको समस्या कम भएको छ । यसको पूर्णरूपमा कार्यान्वयन हुनका लागि समय लाग्ने कामपाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् । काठमाडौंको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको डंगोलको भनाइ छ ।
कार्यक्रम लागू भएपछि त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत स्थानमा सवारी जाम कम भएको पनि प्रवक्ता डंगोलको दाबी छ । नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारबाही गर्ने जनाए पनि उनीहरूले इमानदारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारबाहीमा नपरेको पनि महानगरले बताएको छ ।
काठमाडौं उपत्यकाभित्रै सञ्चालन हुने लामो तथा छोटो दूरीको सवारी साधन यी स्थानमा लामबद्ध हुँदा पैदलयात्रुलाई समेत समस्या भएको यात्रुको गुनासो छ । यात्रु हिँड्ने स्थानहरुमा पनि सवारी नै रोकेर राखेको हुन्छ । कार्यक्रम सुरुवातीको चरणमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो व्यवस्था काठमाडौं उपत्यकाको अन्य स्थानमा पनि लागू गर्ने जनाए पनि सुरु गरेको स्थानहरुमा समेत प्रभाकारी कार्यान्वयन हुन नसक्दा यसतर्फ ध्यान जानसकेको छैन ।
काठमाडौंमा कलंकी बालाजुचोक, चाबहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर, थापाथलीलगायत स्थानमा आवतजावत गर्दा नागरिकले जामको समस्या भोग्नु नौलो होइन । हरेक दिन घण्टौं जाम खेपेर नागरिक आफ्नो कामकाज धान्न बाध्य भएका छन् । त्यति मात्रै कहाँ हो र धेरै स्थानमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन ।
गत साउनमै कामपाले ८ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने तयारी गरे पनि उक्त कार्यले अहिलेसम्म गति लिनसकेको छैन । कामपाभित्र करिब १ हजार ४ सय ५० किमि पक्की सडक छ । कामपालाई ८ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरी काम गर्नुपर्छ । कामपाभित्र ८ मिटरभन्दा कम चौडाइका सडक ९ सय ५० किमि छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । -रासस