चिकित्सा क्षेत्र सुधारको माग गर्दै सुदूरपश्चिमको डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । तर केसी सेनाको हेलिकप्टर चढ्न भने मानेनन् । उनले आफू स्वस्थ रहेको तथा माग पूरा नभएसम्म अनशन नतोड्ने अडान दोहोर्याए । उनले अनशन तोडन र काठमाडौं जान पूर्ण इन्कार गरेका छन् ।
यसअघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सार्न भनेको थियो । अस्पतालबाट विज्ञप्ति नै सार्वजनिक भएपछि डा. केसीलाई लिन काठमाडौंबाट सेनाको हेलिकोप्टर सोमबार बिहान डडेलधुरा पुगेको थियो । अहिले हेलिकोप्टर दहस्थित सेनाको ब्यारेकमै छ ।
स्वास्थ्य जटिल बनेसँगै रिफरको तयारी
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि चिकित्सकहरुले सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाएका छन् । निजी घरमा अनशन बसेका केसीलाई अस्पतालमा सारिए पनि उनले औषधि सेवन गर्न नमानेको र स्वास्थ्य अवस्था झन् नाजुक बन्दै गएकाले सुविधायुक्त अस्पतालमा लैजान सल्लाह दिइएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिए ।
‘अहिले ब्लड प्रेसर र मुटुको चाल बढेको छ, उहाँको थप केही जाँच गर्नुपर्ने देखिन्छ जुन यो अस्पतालमा सम्भव छैन,’ उनले भने, ‘अन्यत्र पठाउन सल्लाह दिएका छौँ तर उहाँले मानिरहनु भएको छैन ।' डडेल्धुरा अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र एबिजी सेवा नरहेकोले डा. केसीको उपचार डडेलधुरामा सम्भव नरहेको अस्पतालले जनाएको छ ।
अनशन तोड्नुस् : शिक्षामन्त्री
यता शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार बिहान मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी डा. केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए । अहिले डा. केसीले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने पोखरेलले बताए ।
मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उनले भने, ‘डा. केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकताबद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन ।’
समर्थकद्वारा प्रदर्शन जारी, बजार क्षेत्र ठप्प
डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि अनशनमा छन् । डाक्टर केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै उनका समर्थकले प्रदर्शन गरिरहेका छन् । उनको समर्थनमा दिनहुँ प्रदर्शन तथा बजार क्षेत्र बन्द गरिएका छन् । उनका समर्थकहरुले बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । आज डडेलधुरा बजार पूर्ण रुपमा बन्द भएको छ । हिजो (आइतबार) त झन् सरकारी सवारीसाधन आउजाउमा रोक समेत लगाएका थिए ।
प्रहरीद्वारा अनशनस्थल सार्न दबाब
प्रहरीले डा. केसीलाई अनशनस्थल सार्न दबाब दिएको छ । तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ । प्रहरीले केसीलाई अनशनस्थल छाड्न दबाब दिएपछि केसीका समर्थकले भने त्यसो नगर्न प्रहरीसँग आग्रह गरेका छन् । प्रहरी र डाक्टर केसीका समर्थकका कारण डडेलधुरा अस्पताल केहीबेर तनावग्रस्त बन्यो ।