बर्दियाको ठाकुरबाबा नगरपालिका ८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दा-गर्दै पनि भुडकैयाका ३२ वर्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । उनको उपचारका क्रममा भारतको लखनउमा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
भाइटीकाको राति युवाहरुको कुटपिटबाट ४ जना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा ७, कालीगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देवी रोकायसहित अहिलेसम्म ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कुटपिटमा संलग्न रहेको आशंकामा अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरी तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्सा चालकलाई मर्मत खर्च दिलाइएको थियो । त्यही युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा सुरु भएको र झगडा नगर्न आग्रह गर्दा-गर्दै युवाहरुको समूहले कुटपिटमा उत्रिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । -रासस