प्रहरीले बिभिन्न ठाउँबाट जुवा खेलिरहेका ३३ जनालाई जुवाखालबाटै पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका ४, वनस्थली बस्ने उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ४, पासिकोट बस्ने ३६ वर्षीय शिवराम भण्डारी लगायत ११ जनालाई ४ लाख १ हजार १५ रुपैयाँ नगद, १८ थान कौडा र १ बुक ताससहित प्रहरीले आइतबार राति पक्राउ गरेको छ।
यसैगरी, पोखरा महानगरपालिका–१८ चालिसे डाँडास्थित रेष्टुरेष्टमा कौडा खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका–६ बैदाम बस्ने ४४ वर्षीय खिमलाल पहारी लगायत १५ जनालाई ६ लाख १० हजार रुपैयाँ र ३२ थान कौडासहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पोखरा महानगरपालिका–१३ काहुखोला वुडुवा मार्ग बस्ने बिष्णुमाया गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका–१३ वुडुवा मार्ग बस्ने ५७ वर्षीय सूर्य बहादुर कार्की लगायत ७ जनालाई ४९ हजार ५ सय ६० रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।