झापाको दमक ३ मा रहेको भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ ।
दमकको उत्तरी क्षेत्र बेलडाँगी २ स्थित बाक्लो बस्ती रहेको शिविरमा दसैंको अन्तिम दिन ग्यास चुलोबाट निस्किएको आगोले शिविरका ९ छाप्रा पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । आगलागीबाट अन्य छाप्रा जोगाउन केही छाप्रा भत्काइएको थियो ।
नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए । आगलागीबाट एक शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए । -रासस