सिद्धार्थ राजमार्गको बुटवल तानसेन खण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुंगा खस्यो । पाल्पाबाट बुटवल आउँदै गरेको लु.१ख ६१८० नम्बरको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुंगा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए ।
ढुंगा खसेर बसको अगाडिको भागमा बज्रिँदा बसका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ का ३५ वर्षीय कमल राउत सख्त घाइते भए । बसमा सवार अन्य यात्रु भने सकुशल रहे ।
झन्डै चार साताअघि (भदौ २७ मा) यही खण्डको सिद्धबाबा क्षेत्रमा एकैचोटि दुई गाडी पहिरोले पुर्यो । पाल्पातर्फ जाँदै गरेको लु.१ज २६१७ नम्बरको जिप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु.२च ५९३८ नम्बरको स्कार्पियो पहिरोले पुरिँदा गुल्मी छापचौरका कमल सुनारले ज्यान गुमाए । अन्य ४ घाइते भए ।
यो घटनाको ठीक एक महिनाअघि गत असार २८ गते सिद्धबाबा क्षेत्रमै पहिरोमा परेर पाल्पा मित्यालका धनबहादुर सुनारीले ज्यान गुमाए । लु.५०प ४६७१ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गर्दा सुनारी पहिरोमा परेका थिए । पहिरोसँगै बगेर भीरमा अड्किएका सुनारीको शव ३ घण्टापछि प्रहरीले भीरबाट निकालेको थियो ।
हिउँद होस् या बर्खा सिद्धबाबा क्षेत्रमा गइरहने पहिरोले यहाँको यात्रा निकै कष्टकर र त्रासदीपूर्ण बन्ने गरेको छ । यात्रु तथा सवारी चालकले ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको गुनासो गर्छन । “सिद्धबाबा त अहिले सारै डरलाग्दो भयो, सडक पार नगर्दासम्म कहाँनिर ढुंगा खस्छ भनेर गाडी कुदाउनुपर्छ”, विगत १० वर्षदेखि बुटवल-तम्घास-अर्घाखाँची रुटमा सवारी चलाउँदै आएका कुलबहादुर रास्कोटी भन्छन्, “अब यो सडकको विकल्प खोज्नुपर्छ ।”
मौसम खराब हुने बित्तिकै सिद्धबाबामा पहिरो र ढुंगा खस्ने भएका कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जातर्फ जाने सवारी चालकहरु डराउँछन् । पानी परेका बेला त्यतातिर गाडी जान मान्दैनन्, गए पनि ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता छ, बुटवल पाल्पा बस काउन्टरका कर्मचारी जोगबहादुर श्रेष्ठ भन्छन् ।
सिद्धबाबा क्षेत्र हुँदै प्रत्येक दिन सानाठूला गरी ४ हजार १ सय सवारी गुड्ने गरेको दोभान प्रहरी चौकीका हवल्दार पाराशोर डाँगीले जानकारी दिए । बुटवल बसपार्कबाट पाल्पाका लागि दैनिक ५२ बस छुट्छन् । तीमध्ये ९ वटा पाल्पाका खानीगाउँ, दर्लम, बतासेलगायत स्थानमा पुग्छन् । प्रत्येक १५-१५ मिनेटमा सिद्धबाबाको जोखिमयुक्त सडक पार गरेर सवारी चालक र यात्रुले यात्रा गर्छन् । “अप्ठ्यारो भनेर के गर्नु हरेक दिन यात्रा गर्नुपर्ने बाध्यता छ, सिद्धबाबा पुगेपछि यात्रु पनि साह्रै डराउँछन्”, लु.२ख ४२९८ नंको बसका सहचालक नारायणबहादुर राना भन्छन्, “सिद्धबाबा भीर कटेपछि बल्ल सास फेर्छौं ।”
“बुटवल आउने काम परिरहन्छ तर सिद्धबाबाको सडकले सातो लैजान्छ, न त हिँडेर निर्वाह हुन्छ”, पाल्पा तानसेनकी मैना सुवेदी भन्छिन्, “भगवान्को नाम जपेर यात्रा गर्छु ।”
सिद्धबाबा क्षेत्र हुँदै पश्चिम नेपाल बस व्यवसायी प्रालिका झन्डै ३ सय गाडी आवतजावत गर्ने गरेको अध्यक्ष दधिराम खरेल बताउँछन् । “सडकको अवस्था ज्यादै नाजुक भयो”, उनले भने, “सरकारले सडकको विकल्प खोज्नुपर्छ ।”
सिद्धबाबा सडकको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले वैकल्पिक सडकका रुपमा बुटवलदेखि चरङ्गे हुँदै झुम्सासम्मको सडक निर्माण प्रक्रिया सुरु गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नूर मोहम्मद खाँ बताउँछन् । यो सडक निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन भएको उनको भनाइ छ ।
सिद्धबाबा सडकको जोखिम सधैंका लागि अन्त्य गर्न सरकारले सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएको पूर्वअर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । “सिद्धबाबा सडकको विषयलाई सरकारले गम्भीर रुपमा लिएर सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएका छौँ”, उनले भने, “केही महीनामै टेन्डर गर्ने तयारी छ ।” -रासस