महिला अधिकारकर्मी लिलि थापाले रोशनी शाही र कृष्णबहादुर महरा प्रकरणमा स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेकी छन्।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले आफूलाई सभामुख महराले बलात्कार गरेको आरोप लगाएपछि बाहिरएको यो प्रकरणमा प्रहरीले मात्रै छानबिन गरेर नपुग्ने थापाको भनाइ छ।
स्पेसखबरसँग कुरा गर्दै थापाले रोशनीले दोस्रो पटक दिएको अन्तरवार्ताभन्दा पनि पहिलोपटक दिएकै अन्तरवार्तालाई आधार मानेर अनुसन्धान गर्नु पर्नेमा जोड दिइन्। उनले पीडित भनिएकी महिलाको जीवन रक्षा नै अहिलेको पहिलो आवश्यकता रहेको पनि उल्लेख गरिन्।
‘अहिले जुन आइरहेको छ पहिला दोषी भन्ने फेरि निर्दोष भन्ने। त्यसले गर्दा हामी अहिले ती महिलाको सुरक्षाको विषयमा चिन्तित छौं। उनको यस्तो बोली फेरिनुमा उनको स्वास्थ्य अवस्था र दबाव दुवै हुन सक्छ। हामीले अहिले ती महिलाको सुरक्षाको विषयमा पहल पनि गरिरहेका छौं। हाम्रो पहिलो माग भनेकै ती महिला सुरक्षित हुनुपर्छ भन्ने नै छ,’ उनले भनिन्।
शाहीको भनाइ सार्वजनिक भएलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए। तर घटनाको ४८ घण्टामा पीडित भनिएकी महिलाले आफू डिप्रेसनको बिरामी भन्दै महराले आफूलाई बलात्कार नगरेको भनेर अभिव्यक्ति दिएपछि घटनालाई अन्तै मोड्ने प्रयास गरिएको भन्दै अधिकारर्मी थापाले दोस्रो, तेस्रो अभिव्यक्तिकै कुनै अर्थ नहुने बताइन्।
उनले भनिन् ‘यो घटनाको एकदमै राम्रोसँग छानबिन हुनैपर्छ। किनभने पीडित भनिएकी महिलाले दोस्रो भनाइ सार्वजनिक गरेको भए पनि हाम्रो माग भनेको पहिलो भनाइलाई नै आधार मानेर निष्पक्ष छानबिन हुनुपर्छ। प्रहरीले मात्रै अनुसन्धान गरेर यो घटनाको छानबिन हुँदैन्। छुट्टै निष्पक्ष छानबिन समिति बनाउनु पर्छ। त्यसका लागि उक्त समितिमा नागरिक समाजका महिलालाई पनि समावेश गरेर समिति गठन गर्नुपर्छ।’
पीडित महिलाका श्रीमानले डिभोर्स दिएको भनेर फेसबुकमा दुवै जनाको हस्ताक्षर गरिएको पत्र सार्वजनिक पनि भएको छ। त्यसैले ती महिलाको अहिले स्वास्थ्य र सुरक्षा ठूलो प्रश्न रहेको भन्दै यसका लागि सबैतिर पहल भइरहेको पनि बताइन्।
उनले पीडित महिलालाई भेट्ने प्रयास गरेको जानकारी दिँदैं भनिन् ‘ती महिलालाई हामीले भेट्ने प्रयास गरिरहेका छौं। दोस्रो भनाइ सार्वजनिक नहुँदै हामीले भेट्ने प्रयास गरेका थियौं। त्यतिबेला महिला सुरक्षा दबाव समूहको बैठक बसिरहेका बेला हाम्रा साथीहरुले उहाँसँग फोनमा कुरा गर्दा उहाँले भेट गर्न मान्नु भएन। उहाँले त्यतिबेला हामीलाई व्यक्तिगत जीवनमा हस्तक्षेप नगर्नुस् भन्नुभयो। दोस्रो भनाइ सार्वजनिक भएपछि उहाँलाई हामीले भेट्ने प्रयास गरिरहेका छौं। सायद आज हामीले भेट्न सक्छौं कि।’