नेपालीको बानी नै हो पर्याप्त समय हुँदा पनि काम नगर्ने अन्तिममा हतारो गर्ने । अझ ठेकेदार (निर्माण व्यवसायी) हरु पनि कम्ता कहाँ छन् र ? वर्षदिनको ११ महिना ढुक्कले कानमा तेलहालेर बस्छन् अनि अन्तिममा हतारपतार आफ्नो जिम्माको काम सक्ने ध्याउन्नमा देखिन्छन् ।
यस्तो हुनु भनेको काम गुणस्तरहीन हुनु हो भनेर बुझ्न सकिन्छ । हतारको काम लतार भनेजस्तै काम सक्ने मेलोमा सबैको दौढधूप चलेको हुन्छ । समयछँदै काम नगर्ने अन्तिममा हतारोमा बजेट सक्नेपाराले काम भएको देख्नु नेपालीका लागि सामान्य भइसकेको छ ।
यसकै जल्दोबल्दो उदाहरणका रुपमा नौबीसे-नागढुंगा सडकलाई पनि लिन सकिन्छ । यसको निर्माणको जिम्मा पाएको चितवनको ठेकेदार कम्पनी जीएमआर यतिबेला भने जागेको छ । ११ महिना सुतेर बस्ने अनि चाडबाडको मुखमा काम देखाउने प्रवृत्तिले जनता, राज्य सबैले द्:ख पाएको अवस्था छ । चाडबाडको मुखैमा, राजगमार्गमा यात्रु तथा सवारीसाधनको चाप उस्तै तर अहिले चितवनस्थित जीएमआर कम्पनी भने नौबीसे-नागढुंगा सडक मर्मतमा जुटेको छ । यानि काम देखाइरहेको छ । गत असार मसान्तमै बिग्रिएको सडक मर्मत गरिसक्नुपर्ने काम जीएमआरले अहिले चाडबाडको मुखैमा गर्न थालेको छ । यही बेला राजधानी भित्रने दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारीसाधन घण्टौंको जाममा फँस्न बाध्य छन् । उता राजधानी बाहिरिने सर्वसाधारण पनि घण्टौंको जाममा बस्न बाध्य बनेका छन् ।
निर्माण कम्पनीले अहिले राजमार्ग हतार-हतारमा टालटुल गरी झारा टार्ने काम गरिरहेको छ । जीएमआरले नौबिसे-नागढुंगा खण्डको १५ किमि मर्मतको जिम्मा पाएको हो । सडक खाल्डाखुल्डी भएर दुर्घटनाको जोखिम बढ्नु र सर्वत्र गुनासो आउन थालेपछि जीएमआरले बाध्य भएको टालटुले काम त थालेको छ । यो काम (पिच) पनि २ महिना टिक्ने अवस्थाको छैन । सर्वत्र गुनासो आउन थालेपछि झारा टार्ने उद्देश्यले कम्पनीबाट राजमार्गका खाल्डाखुल्डीमा कालोपत्रे हाल्न थालिएको हो । यद्यपि खाल्डा-खुल्डी टालिएपछि केही समय भए पनि यात्रुले सहज यात्रा गर्न पाउनेछन् । तर पानी परिरहेको समयमा पनि खाल्डाखुल्डी टाल्नका लागि कालोपत्रे हालिदिँदा यसको टिकाउ कति हुने भन्नेमै प्रश्न उठ्न थालेको छ । अझ जाम हुने पीपलामोड, खत्रीपौवा, सित्रेखोला, झ्याप्लेखोला, टायलघर क्षेत्रका खाल्डाखुल्डी टालटुल पारिएका छन् ।
चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारी भने यात्रुलाई असर नपर्ने गरी मर्मत भइरहेको बताउँछन् । यद्यपि यात्रु तथा सवारीसाधन घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । अहिले यो (नौबिसे-नागढुंगा) खण्डमा हुने सवारी जाम व्यवस्थापन गर्न प्रहरीलाई पनि गाह्रो पर्न थालेको छ । ‘सवारी साधनलाई असहज नहुने गरी ठेकेदारलाई परिचालन गरेका छौं,’ उनले भने, ‘यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन मर्मतको काम चाँडो सक्ने तयारी छ ।’
उता धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सवारी जाम घटाउन लामा मालवाहक सवारी साधनलाई मंगलबारदेखि नै दिनभर जिल्लामै रोक्ने र नो-ओभरटेक जोन पनि लागू गरिएको जानकारी दिए । निर्माण कम्पनीका सञ्चालक गणेश पाण्डेले भने अत्यधिक वर्षाले असारमा काम गर्न नसकिएको बताए । 'पानी नपरे बिहीबारसम्म काम सकिन्छ,' उनले भने । बेला न कुबेला थालिएको सडक मर्मतले धादिङतर्फ ३० किमिसम्म जाम हुने गरेको यात्रुको गुनासो छ । यो खण्ड जति मर्मत गरे पनि वर्षदिन पनि टिक्न नसकेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार कमसल सामग्रीकै कारण यहाँको सडक चाँडै भत्कने गरेको हो ।
अझ चाडबाड (दसैं, तिहार, छट) नजिकिएसँगै राजधानी भित्रने र बाहिरिने सवारीसाधन तथा ढुवानीका साधनको चाप बढ्ने गर्छ । हरेक वर्षका चाडपर्व आगमनसँगै हतारमा राजमार्ग टालटुल गरी खाल्डा पुरेर चिटिक्क बनाइए पनि यो धेरै दिन भने टिक्दैन ।
उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि जाम हुने गरेको छ । जीर्ण सडकमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने यात्रुको बाध्यता छ ।
यो (त्रिभुवन राजपथ) को भारवहन क्षमता १० टन बराबर छ । यद्यपि १५ देखि ४० टनसम्म भार बोकेका गाडी यही सडक भएर काठमाडौं छिर्छन् अनि बाहिरिन्छन् । यस्तै रातमा चल्ने टिपरले पानी चुहाउँदै बालुवा बोक्ने भएकाले पनि सडक चाँडै बिग्रने समस्या टड्कारो छ ।