नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले विदेशी आपराधिक समूहले नेपाली भूमि प्रयोग गरेर अपराध गर्न खोजेको भन्ने अफवाह फैलाइएको बताएका छन् ।
मंगलबार काठमाडौंका विभिन्न स्थानमा बन्ने प्रहरी भवनहरुको शिलान्यास गर्दै उनले विदेशी आपराधिक समूहले नेपाली भूमिलाई अपराधकोे केन्द्र बनाउन खोजेको हो भने त्यो सम्भव नभएको स्पष्ट पारे। उनले आपराधिक मनोवृत्ति लिएर कतिपय विदेशी नेपाल आउने गरे पनि ती नेपाल प्रहरीको नजरबाट लुक्न नसक्ने उल्लेख गरे ।
महानिरीक्षक खनालले साइबर अपराध र मानव बेचबिखनका घटनालाई प्रहरीले प्राथमिकतामा राखेको जानकारी दिए । विभिन्न निर्माण कम्पनीहरु कालोसूचीमा परेको भन्दै प्रहरी भवन निर्माणका क्रममा कुनै अनियमितता भए कानुन अनुसार कारबाही गर्ने उनको भनाइ छ ।
महानगरीय प्रहरी परिसर,टेकुमा बन्न लागेको महानगरीय अपराध महाशाखाको भवन र पुलिस क्लबको भृकुटीमण्डपमा बन्ने भवन अपांग,वातावरण र महिलामैत्री हुनुका साथै भूकम्प प्रतिरोधात्मक रहने छन् । २ बर्षमा तयार गरिने भवनहरुको निर्माण लागत १ अर्व ९६ करोड रहेको नेपाल प्रहरीले जनाएको छ ।