ऐतिहासिक धार्मिक र सदियौंदेखि पानीमाथि निरन्तर आगो बल्ने हुनाले दैलेख पर्यटकीय गन्तव्य बनेको छ । यहाँका ज्वालालाई स्थानीय बासिन्दा देवताका रुपमा पुज्छन् ।
सबैले देवी देवता मानेर पूजा यहाँ पूजा गरिन्छ । यहाँ पूजापाठ गरे दुःखी बिरामी नहुने जनविश्वास छ । श्रीस्थानको ज्वालामा एलपी ग्यास रहेको भन्दै भूगर्भविदहरुले बताउँदै आए पनि वास्तविकता बाहिरिएको छैन । यो यस क्षेत्रको पवित्र धार्मिक तीर्थस्थल पनि हो । उसो त पेट्रोलियम पदार्थ तथा एलपी ग्यास भएको खानी तथा भूगर्भ विभागले यसअघि पुष्टि नगरेको पनि कहाँ हो र ? तर अहिले यसको उत्तित संरक्षण आवश्यक रहेको स्थानीयको भनाइ छ ।
यहाँ ग्यास प्रशोधन हुन सके आयआर्जन बढ्ने त पक्का छ । घुमफिरको एउटा गज्जबको गन्तव्यसमेत बन्न सक्थ्यो । जसले स्थानीय उत्पादन प्रवद्र्धमा पनि टेवा मिल्ने गमौडीका लालबाबु खत्री बताउँछन् । जिल्ला आउने अधिकांश ज्वाला क्षेत्रको दर्शन गर्न छुटाउँदैनन् । यद्यपि यो क्षेत्रको प्रचार–प्रचारसँगै स्थानीय तहदेखि केन्द्रसम्मैले प्राथमिकतामा राख्नै पर्ने देखिन्छ । यहाँ वर्षौंदेखि ग्यास बगेर÷बलेर खेर गइरहेको छ । यहाँ आएर सबै नेता, कर्मचारीले अवलोकन गरेर त फर्किन्छन् तर यसको प्रवद्र्धन र संवद्र्धनमा एक मिनेट पनि खर्चिन उपयुक्त ठान्दैनन् । सरकारी उदासीनताकै कारण पञ्चकोसी, ज्वाला क्षेत्रमा पाइने ग्यास खेर गएको मान्न सकिन्छ ।
दैलेखको शिरस्थान, नाभिस्थान, धुलेश्वर र पादुकामा पेट्रोलियम पदार्थ भएका प्रमाण प्रशस्तै छन् । धार्मिक र पर्यटकीय हिसाबले पनि यी प्रख्यात स्थान हुन् । यहाँको ज्वाला सदियौंदेखि बलेको शिरस्थान मन्दिरका महन्त गोकर्णनाथ योगी बताउँछन् । नाभिस्थान खोलाको विभिन्न भागमा पानीको सतहमुनिबाट हावाको फोकाका रूपमा ग्यास निस्किरहेको देख्न सकिन्छ । त्यहाँका दुवै मन्दिरभित्र ग्यास छ । बडलम्जीको धुलेश्वर डाँडामा पनि ग्यास रहेको अनुमान छ । अनुसन्धानबाट पादुकास्थानका ४ मन्दिरमा प्रशस्त पेट्रोलियम पदार्थ हुन सक्ने पत्ता लागेको छ । तर संरक्षणमा पर्याप्त ध्यान पुगेको छैन ।
यहाँका पुर्खाहरुले यी ग्यास भएका क्षेत्रमा देवीदेवताकै नाम जप्दै मन्दिर बनाए । जसलाई उनीहरुले धार्मिक स्थलका रुपमा विकास गरेको किंवदन्ती छ ।
यद्यपि कहाँ, कति मात्रामा ग्यास छ र त्यसको गहिराइ कति छ ? भन्नेबारे अझै निक्र्योल हुन सकेको छैन । भौगर्भिक विज्ञका भनाइमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन महँगो मानिन्छ । सुरुमा ग्राभिटी सर्भे र भौगर्भिक अध्ययन आवश्यक पर्छ ।