मुस्कानसहितको सेवा भन्ने प्रहरीको असली रुप रसुवामा कन्टेनर चालकमाथि गरिएको आक्रमणबाट छताछुल्ल भएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियोले प्रहरीको 'मुस्कानसहितको सेवा' भन्ने नारालाई गिज्याएको छ ।
नेपाल-चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा.६ख ४९२५ नम्बरको कन्टेनर चालक श्रीमान् तामाङ हिजो (मंगलबार) नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारबाट रसुवाको टिमुरेमा मज्जैले कुटिएका छन् ।
हातपात गर्ने असई र हवल्दारको पहिचान भने प्रहरीले गोप्य राखे पनि भिडियोमा भने प्रस्ट देखिन सकिन्छ । २ प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याउँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको भिडियोमा देखिन्छ । चालकमाथि प्रहरीको ज्यादतिपछि प्रत्यक्षदर्शीले त्यसो नगर्न आग्रह गरे पनि उल्टै प्रहरीले धम्याउन छाडेका छैनन् । ‘यसरी कुटपिट गर्न मिल्छ ? ड्राइभरको इज्जत छैन र ?’ भन्दै एक प्रत्यक्षदर्शीले प्रहरीलाई सुझाउँछन् । तर, चालकले सुरुमा गल्ती गरेको जिकिर गर्दै प्रहरीहरु लात्ती र मुक्का बर्साइरहन्छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक भएपछि प्रहरीक ज्यादतिको सर्वत्र निन्दा भएको छ ।
हेर्नुहोस् भिडियो ::