कैलालीको टीकापुरमा आजदेखि तीनदिने थरुहट/थारुवानको सम्मेलन सुरु भएको छ । थारुवन प्रदेशको माग गर्दै थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनाको आजै ४ वर्ष पनि पुगेको छ । धेरैले आजको दिनलाई कालो दिन मान्छन् । ०७२ भदौ ७ मा भएको घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकबहादुर साउँदको ज्यान गएको थियो ।
अहिले भने टीकापुर बाक्लो सुरक्षाकर्मीको चहलपहलसँगै टेन्ट गाडिएको सिटी भवनमा सम्मेलन भइरहेको छ ।
सम्मलेनस्थल प्रवेशका लागि सुरक्षाकर्मी र थरुहट कार्यकर्ताको दोहोरो सुरक्षा जाँचको व्यवस्था मिलाइएको छ । स्थानीय प्रशासनले पुन: त्यस्तो घटना दोहोरिन नदिन कडा सुरक्षा सावधानी अपनाएको छ ।
थारु कल्याणकरणी सभाले टीकापुरबाटै पुन: संविधान संशोधनसहित थरुहट/थारुवन स्वायत्त प्रदेशको मुद्दा उठाएको छ । कार्यक्रमको मूल नारा ‘थरुहट एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन, संविधान संशोधनसहित थरुहट/थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन’ तय गरिएको छ । टीकापुर घटनाकै दिन पारेर सामाजिक सद्भाव र राष्ट्रिय सम्मेलन आयोजना गरेको सभाले जनाएको छ ।