ओखलढुंगाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । सुनकोसी गाउँपालिका ७ का वडा-सचिव ४५ वर्षीय चेतबहादुर कटवालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । उनी सुनकोसी गाउँपालिकाको च्यानमका स्थायी बासिन्दा हुन् ।
भदौ १ गते स्थानीय २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा उनीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
यसैगरी प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । ७ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका ६, श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो ।
नाताले भान्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरी मुद्दा चलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । -रासस