युरोपका आकाशमा नेपाली जहाजलाई उडान प्रतिबन्ध गरिएको विषयमा नेपाली पक्षले जोडदारका साथ कुरा उठाएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६औँ सम्मेलनका अवसरमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) ले राखेको कालोसूचीबाट हटाउनेबारे दुईपक्षीय छलफल गरेको हो ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले इयूको कालोसूची हटाउने सन्दर्भमा इयूका पदाधिकारीबीच दुईपक्षीय कुराकानी भएको र त्यहाँ नेपालले आफ्ना विषयवस्तु स्पष्ट ढङ्गले राखेको जानकारी दिए । उक्त विषयलाई आगामी दिनमा प्राथमिकताका साथ अगाडि बढाइने उनले उल्लेख गरे । इयूले उडान सुरक्षा मापदण्ड परिपालना नगरेको भन्दै सन् २०१३ देखि नेपाली हवाई जहाजलाई युरोप प्रवेशमा रोक लगाउँदै आएको छ ।
उसले प्राधिकरणलाई कानूनीरूपमा नियामक र सेवाप्रदायक छुट्टाछुट्टै निकायको रूपमा स्थापित गर्न भनेको छ । तर, यही विषयले मात्र नभई अन्तर्राष्ट्रिय उड्डयन संस्थाको मापदण्डअनुरूप सेवा सञ्चालन नभएको प्रश्न उठाएको छ । कालोसूचीबाट नेपाललाई हटाउने सन्दर्भमा इयु र नेपाली उड्डयन अधिकारीबीच गत जनवरी १९ मा दुईपक्षीय वार्ता समेत भएको थियो । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन ।
आइकाओले भने सुरक्षा परीक्षणमा नेपालले आधारभूत विश्वव्यापीस्तर पार गरेको भन्दै सन् २०१७ मै नेपाली वायु सेवालाई राखेको गम्भीर सुरक्षा चासोको सूचीबाट हटाइसकेको छ । उसले सुरक्षा परीक्षणमा निर्धारित प्रक्रिया पालना नगरेको भन्दै सन् २०१३ मा नेपाललाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो ।रासस