राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन्।
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन् ।
खुट्टामा समस्या भएको भन्दै राष्ट्रपति भण्डारी भने सिँढी नचढीकनै आँगनमै पूजाअर्चना गरिन्।। राष्ट्रपतिको पूजाअर्चनाका लागि पूजारीहरु नै तलै ओर्लिएका थिए ।राष्ट्रपतिलाई मन्दिरका मूल पूजारी प्रतापधर शर्माले प्रसाद तथा टीका ग्रहण गराएका थिए।
सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षतिपुगेपछि मर्मतसम्भार गरिएको थियो । किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको छ ।