वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको चित्तदुखाइ छ।‘निर्वाचित हुनुअघि वडाध्यक्षसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरू सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलार्ई भने ‘तिमी’ भन्नुहुन्छ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ।
वडाध्यक्ष प्रकाश पौडेलले आफूहरूसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन्। परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन्। वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो। ‘महानगरका महिला जनप्रतिनिधिको टोली ५ नम्बर प्रदेश भ्रमणमा निस्किएका बेला मलाई थाहै नदिई वडाध्यक्षले पोसाक बाँड्नुभएछ,’ उनले सुनाइन्।
वडाध्यक्ष पौडेल भने दलित महिला जनप्रतिनिधिप्रति कुनै पूर्वाग्रह नराखेको दाबी गर्छन्। भन्छन्, ‘उहाँ आफैं जिम्मेवार हुनुहुन्छ, मैले त्यस्तो केही सोचेको छैन। सुधार गर्नुपर्ने रहेछ भने गर्छु।’ व्यक्तिभन्दा कार्यक्रम मुख्य भएकाले परियारको अनुपस्थितिमा पोसाक वितरण गरेको उनले बताए।
पोखरा–१७ की सदस्य तारा सेवा परियारले आफूमाथि समेत जातीय विभेद हुने गरेको सुनाइन्। ‘एउटा सहकारीको कार्यक्रममा पौडेल थरका अतिथिलाई खादा लगाइदिँदा छोइन्छ कि झैं गर्नुभयो,’ उनले भनिन्, ‘जनप्रतिनिधिलाई त त्यस्तो व्यवहार गरिन्छ भने अरूलाई कुन हदसम्म विभेद हुन्छ होला रु’ वडाध्यक्षले अप्ठेरो काम दलित महिला सदस्यलाई सुम्पिने गरेको पोखरा–१२ की सदस्य विष्णु विश्वकर्माले अनुभव सुनाइन्।
‘झैझगडा, विवाद मिलाउने काममा हामीलाई खटाइन्छ,’ उनले भनिन्, ‘सम्मान थाप्ने, अतिथि बन्ने कार्यक्रममा अरू सदस्यलाई पठाइन्छ।’ पोखरा–१ की सदस्य प्रेमदेवी परियार दलित महिलाले महानगरमा लगेका योजनामा सुनुवाइ नहुने गरेको बताइन्। पोखरा–८ की सदस्य लक्ष्मी कौशलको उस्तै गुनासो छ। कान्तिपुरमा खबर छ।