तिब्बती शरणार्थीलाई नागरिकता दिलाउन किर्ते कागजात बनाउन संलग्न रहेको आरोपमा पक्राउ परेको पोखरा महानगरपालिका –१८ का वडाध्यक्ष रणबहादुर थापा बुधबार जमानीमा छुटेका छन् । किर्ते कागजका आधारमा सिफारिस गरेको आरोपमा साउन ३१ गते पक्राउ परेका वडाध्यक्ष थापा र वडासदस्य ज्ञानबहादुर थापा समेत रिहा भएका छन् ।
किर्ते कागजात कसुरमा पक्राउ परेका वडाध्यक्ष थापालाई पोखरा महानगरपालिका कार्यालयबाट हिरासत मुक्त गराइदिन सरकारी वकिलको कार्यालयमा सिफारिस पुगेको थियो । कानुन वमोजिम महानगरको जिम्मा जमानीमा तोकिएको मितिमा हाजिर हुनेगरी छाड्न अनुमति दिइएको कास्कीका जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
साउन ३१ गते नै पक्राउ परेको स्थानीय पञ्जाधिकारी राजेन्द्र पौडेल भने हिरासतमै छन् । पोखरा महानगरबाट उपप्रमुख मञ्जुदेवी गुरुङले जमानीमा कास्की प्रहरीबाट हिरासत मुक्त गराएको प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
पोखरा २५ हेमजास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका सरु थापामगर र तासी आङ्मो थापामगरलाई आफ्नो छोरी बनाइ पोखरा १८ सराङकोटका लेखबहादुर थापाले नागरिकता दिलाएका थिए । नागरिकता दिलाउन सहयोग गर्ने ८ जनालाई साउन २४ गते पक्राउ गरिसकेको छ ।
आफ्नी छोरीका छोरीलाई वशंजको आधारमा नागरिकता दिलाउन झुटो विवरण पेस गरेका थिए । उनका आफ्ना छोरी नभई नातिनीलाई नागरिकता दिलाएको भन्दै राष्ट्रप्रेमी नेपाली समूहले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएपछि प्रशासनले छानबिन गरेको थियो ।