पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको आरोप लागेका रवि लामिछानेसहित तीन जनालाई म्याद थपका लागि आज फेरि जिल्ला अदालत चितवनमा लगिने भएको छ।
यसअघि ५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले त्यो पाँच दिन सोमबार सकिएको थियो। अनुसन्धान नसकिएकाले आज फेरि तीन दिन म्याद थपका लागि अदालत लग्न लागिएको चितवन प्रहरीले जनाएको छ।
पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई म्याद थप गर्न मंगलबार अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।
पुडासैनीको पोष्टमार्टम रिपोर्ट आइसकेको र तीन जनाकै प्रारम्भिक चरणको बयान सकिएको छ। पोष्टमर्टम रिपोर्टमा पत्रकार पुडासैनीकोे आत्महत्या कै कारण ज्यान गएको उल्लेख गरिएको छ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ।