पतिको हत्या घटना लुकाउन हत्यारासँग रकम लिएको अभियोगमा प्रहरीले भोजपुर नगरपालिका ४, सिद्धेश्वर दावाकी मीना मिजार सार्कीलाई पक्राउ गरेको छ ।
यस्तै हत्यामा संलग्न ५ आरोपीलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भीरबाट धकेलेर हत्या गरेको आरोप छ ।
घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ । केही समयपछि मृतक पूर्णबहादुरकी पत्नी मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप छ । रम्तेलसँग मीनाले २ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नै पतिको हत्याराबाट लिएको रकममध्ये १ लाख ७० हजार रुपैयाँ सदरमुकाममै रहेको एक सहकारी संस्थामा राखेको र ३० हजार रुपैयाँ आफ्नी सासूलाई भैँसी किन्न दिएको मीनाले प्रहरीसमक्ष बयान दिएकी छन् ।