राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ ले निगमका पुराना कागजातको अध्ययनका साथै विज्ञसँग परामर्श गरिरहेको छ ।
समितिले निगमको समग्र व्यवस्थापन सुधारका लागि विगतका प्रतिवेदनको विस्तृत अध्ययन तथा विज्ञसँग छलफल तथा राय सुझाव लिँदै गरेको कार्यदलका संयोजक सुशील घिमिरेले जानकारी दिए ।
निगमका कागजातको अध्ययन तथा विज्ञ एवम् सरोकार निकायको राय सुझाव लिएपछि कार्यदलले आफ्नो कामलाई किनारा लगाउने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ( साउन २२ मन्त्रिस्तर) को निर्णयअनुरूप पूर्वपर्यटन सचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।
कार्यदलका सदस्यमा लेखाविज्ञ (चार्टर्ड एकाउण्टेण्ट) सुबोधकुमार कर्ण, व्यवस्थापनविज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । कार्यदललाई एक महिनाभित्र निगमको समग्र सुधारका लागि ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावको कार्यान्वयन कार्ययोजनासमेत पेश गर्ने जिम्मेवारी दिइएको छ ।