गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न व्यंग्यात्मक प्रदर्शन गर्दै शुक्रबार काठमाडाैं उपत्यकालगायत देशका विभिन्न सहरमा गाईजात्रा पर्व मनाइँदैछ।
विशेषगरी, नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्बिरलगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ। पहिलेपहिले सहर बजारमा धेरैतिर गाई पाल्ने हुनाले गाईलाई नै परिक्रमा गर्ने गरिएको थियो। तर, पछिल्लो समय सहरी परिवेशमा अत्यन्तै न्युनले मात्र गाई पालेकाले गाईको सट्टा मान्छेलाई गाई अंकित चित्र हालेर घुमाउने चलन बढ्दै गएको संस्कृतिविद्को भनाइ छ।
गाईलाई नगर घुमाउनाले एक वर्षभरी मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ। मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिंड्नेलाई निकालेर नगर घुमाउँदा मृत आत्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भत्रे विश्वास छ।
गाईजात्रा व्यंग्यात्मक प्रर्दशन ,नाटक प्रर्दशन तथा लाखे नाच पनि गाईजात्राका दिन देखाइने गरिन्छ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाईजात्रा भाद्रकृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ। यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने कथन छ।
जात्राका दिन केहिले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुन्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिव्रmमा गर्ने चलन छ। नगर परिक्रमा गर्दा उनीहरूले रामायणको करुण रसका गीत र अन्य भजन पनि गाउने गरिन्छ। दिवंगतका परिवारजनले उनीहरूको सम्झनामा क्बाटी , स्याउ ,नास्पाती , काक्रो आदि बाँड्ने गर्छन्। आफन्तको मृत्यु भएर सोकमा डुबेका परिवारजनलाई हसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रूपमा पनि यसलाई लिने गरिन्छ।
आफ्नो घरमा मात्र होइन नगरका अन्य व्यक्तिमा पनि परिवारजन मरेका छन् भन्ने देखाएर चित्त बुझाउने बाटो यो पर्वले दिएको धेरै संस्कृतिविद्ले बताएका छन्। काठमाडांैका तत्कालीन मल्ल राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाईजात्राको चलन ल्याएको इतिहास छ। ललितपुरको पाटनसँगै अन्य सहरहरूमा तथा काठमाडौंको वसन्तपुरसहित अन्य स्थानमा र्गाइजात्रा मनाइन्छ। यस्तै, भक्तपुरमा र्गाइजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङघिसी र माँक प्याखँ (बाँदर नाच)े नाच देखाउने चलन छ। ललितपुरका पाटन क्षेत्र, चापागाउँ, ठेचो, सुनाकोठी, हरिसिद्धी, ठैव , बुङ्मती, खोकना, लुभु, लेलेलगायतका स्थानमा गाईजात्रा मनाइन्छ।
यसैगरी, गाईजात्रा पर्व धुलिखेल ,बनेपा, दोलखा, त्रिशुली, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा , लमजुङ पोखरालगायतका नेवार वस्ती रहेका स्थानमा मनाइन्छ। गाईजात्राका दिन हास्यव्यंग्य कलाकारहरूले मुलुकको राजनीति तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम गर्दै छन्।