वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान ४ बजे निवासमै निधन भएको हो ।
उनको अन्त्यष्टिमा साहित्यकार, कलाकार, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता लगाएतका उपस्थित रहेका थिए । उनले नेपाली साहित्य जगतलाई तीन दर्जन बढी कृति दिएका छन् । उनले २०३९ सालमा माधवी उपन्यासबाट मदन पुरस्कार प्राप्त गरेका थिए । उनलाई नेपाली साहित्यको धरोहरको रुपमा समेत लिने गरिन्थ्यो ।
वैदिक–पौराणिक साहित्य लेखनका महान साधक, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनले नेपाली साहित्यको क्षेत्रलाई अपुरणिय क्षति पुगेको छ । दीक्षितको निधनमा राष्ट्रपति, प्रधानमन्त्री,कांग्रेस सभापति लगायत नेताहरुले दुःख व्यक्त गरेका छन् । दीक्षितका श्रीमती, ४ छोरा र १ छोरी रहेकाछन् ।
यसैबीच,वरिष्ठ साहित्यकार एवं पत्रकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।
ओलीले बिहीबार बिहान टि्वट गर्दै साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेका छन् । दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।