शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको निजी सम्बन्धनका बारमा चासो देखाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको उक्त बिश्वबिद्यालयको सिनेटमा विश्वबिद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले निजी सम्बन्धनका कारण भएको विवादप्रति चासो देखाएका हुन्। अनावश्यक सम्बन्धनका कारण एक वर्ष खेर गएको भन्दै पोखरेलले अन्तुष्टि समेत व्यक्त गरे ।
बर्तमान सरकार समग्र शिक्षा प्रणालीलाई रुपान्तर गर्न लागेको भन्दै उनले गम्भीर भएर बिश्वबिद्यालयको काम अघि बढाउन निर्देशन समेत दिए । बैठकमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली उपस्थित भएनन् ।
प्रधानमन्त्री अनुपस्थित भए पछि सहकुलपति तथा शिक्षा मन्त्री पोखरेलले बैठक सञ्चालन गरेका थिए । बैठकले चालु आर्थिक बर्षका लागि तय गरेको बजेट पारित गर्न सकेन ।
बैठकले बजेट हचुवाका भरमा आएको भन्दै त्यसलाई पुर्नलेखन गरी यथार्थ परक बनाउनका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिम प्रसाद सुवेदीको संयोजकत्वमा अर्थ सचिव, शिक्षा सचिव, रजिस्ट्रार सहितको एक कार्यदलल गठन गरिएको छ । उक्त कार्यदलले त्रिवि र कृषि विश्वविद्यालयको जग्गाको स्वामित्वको विवादबारे पनि अध्ययन गर्ने बताईएको छ ।
चालु आर्थिक बर्षका लागि विश्वविद्यालयले पुंजीगत तर्फ २ अर्ब २ करोड ४५ लाख, नियमित कार्यक्रम तर्फ १ अर्ब २५ करोड ६२ लाख ६९ हजार र आन्तरिक श्रोत तर्फ ४ करोड ५ लाख ३ हजार गरी कूल ३ अर्ब ३२ करोड १२ लाख ७२ हजारको कार्यक्रम तथा बजेट बैठकबाट पास गराउने गरी प्रस्ताव ल्याएको थियो ।