सौराहामा हात्ती दिवस मनाइएको छ । हात्तीलाई मनपर्ने खाना दिएर संरक्षणकर्मी र व्यवसायीले दिवस मनाएका हुन् । प्राकृतिक तथा सांस्कृतिक रूपले महत्त्व दिइने हात्तीको अस्तित्व संकटमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइरहँदा संरक्षणकर्मीले हात्तीको संरक्षणमा चासो देखाएका छन् । अगस्ट १२ मा अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइन्छ । हात्ती सफारीले ख्याति पाएको सौराहामा हात्तीलाई वनभोज खुवाएर दिवस मनाइएको छ ।
नेपालमा २ सय २५ को हाराहारीमा जंगली र त्यती नै संख्यामा घरपालुवा हात्ती छन् । नेपालमा तराई र चुरे जोडिएको २४ जिल्लामध्येका २३ जिल्लामा हात्ती पाइन्छन् । चुरेको झापादेखि हिँडेर हात्ती त्रिवेणीसम्म आइपुग्छ ।