डोटीको बीपी नगरमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डीसी घूस रकमसहित पक्राउ परेका छन् ।
अख्तियारको टोलीले उनलाई ३ लाख २६ हजार नगदसहित पक्राउ गरेको हो । तर, डीसीले भने उक्त रकम आफ्नै भएको जिकिर गरेका छन् ।
काम गरेबापत वन उपभोक्ता समितिका पदाधिकारीबाट घूस लिएको उजुरीका आधारमा डीसीलाई अख्तियार टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका १, भातकाँडाबाट पक्राउ गरेको हो ।
डीसीकै साथमा रहेका जोरायल गाउँपालिका १ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरणले उक्त रकम आफ्नो भएको र डीसीलाई दिएको हुँदा उनकै भएको दाबी गरेका छन् । उनले भने, 'यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसीजीलाई फसाउन कसैले आरोप लगाएको हो, म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो ।'
यद्धपि मल्लले कुन काम विशेष र केका लागि त्यो रकम बोकेका हुन् त्यो भने खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन् । आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डीसी घूससहित पक्राउ परेको पुष्टि गरे ।
उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रसाद तिवारीले सहायक वन अधिकृत डिसी यही साउन २२ गते कञ्चनपुरका लागि रमाना लिएर गएकाले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । -रासस