सुदूरपश्चिम प्रदेशको कञ्चनपुर क्षेत्र डुबानमा परेको छ । सोमबार रातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव पनि बढेको छ ।
कञ्चनपुरको पुष्पलाल चोक, जानकी टोल, जिमुवा, उल्टाखाम, बागफाँटा सब्जीमण्डी, ऐंठपुरलगायत क्षेत्र जलमग्न भएका छन् । वर्षापछि अधिकांश घरभित्र पानी पसेको छ ।
चुरेबाट बग्ने खहरे खोलाको पानी बस्तीतिर पसेर घरभित्रै भरिएको हो । बजार क्षेत्र जलमग्न भएपछि केही विद्यालयका परीक्षा पनि स्थगित गरिएका छन् ।
मंगलबार बिहानको मापनअनुसार महाकाली नदीमा पानीको वहाव १ लाख १३ हजार क्युसेक पुगेको छ । पानीको बहाव बढेपछि वनबासा पुलमा चारपांग्रे सवारीसाधनको आवागमन रोकिएको छ । सर्वसाधारणलाई पैदल आउजाउमा भने रोक लगाइएको छैन ।