बालिकालाई ८ दिनसम्म बन्धक बनाई करणी गरेको आरोपमा पोखराबाट १ शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर घर भएका उदयपुर चौदण्डी ७, बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका २८ वर्षीय शिक्षक राकेशकुमार कनोडिया रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
राकेशले सोही स्कुलमा पढ्ने १४ वर्षीया १ बालिकालाई ८ दिनसम्म पोखरा लेकसाइडस्थित द कन्ट्री यार्ड होटलको १ कोठामा बन्धक बनाई राखेको प्रवक्ता केसीले बताए । ‘बालिकाले प्रयोग गर्ने मोबाइलसमेत नियन्त्रणमा लिई अभिभावकसँग सम्पर्क गर्न नदिएको खुलेको छ,’ उनले भने ।
बन्धक बनाई राखिएकी बालिकालाई उक्त दिनसम्म राकेशले जबर्जस्तीकरणीसमेत गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलीले होटलबाट बालिकाको उद्धार गरेको थियो ।बालिकाका अभिभावकलाई सम्पर्क गरी मंगलबार नै जिम्मा लगाइएको छ । पक्राउ परेकाउपर मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता केसीले बताए ।