चन्द्रयान २ प्रक्षेपणपछि भारतले आफ्नो अर्को मिसन सूर्यमा हुने घोषणा गरेको छ। समाचार एजेन्सीहरुले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) लाई उद्दृत गर्दै जनाएअनुसार आदित्य एल १ नाम दिइएको सूर्य मिसन सन् २०२० को मध्यसम्म लन्च गर्ने योजना बनाइएको छ।
सूर्यको सतहको तापमानभन्दा कोरोनाको तापमान ३०० गुणाले किन बढी छ भन्ने पत्ता लगाउनु उक्त मिसनको उद्देश्य रहेको बताइएको छ। इसरोले आफ्नो वेबसाइटमा मिसनसम्बन्धी जानकारी सार्वजनिक गरेको हो।
आदित्य एल १ पृथ्वीको १५ लाख किलोमिटर रहेर सूर्यको बाहिरी सतहको तापमानको विश्लेषण गर्नेछ। यस्तै, यसले सूर्यको फोटोस्फेयर, क्रोमोस्फेयरको पनि अध्ययन गर्नेछ। यस्तै, यसले सूर्यबाट निस्कने विस्फोटक कणको पनि अध्ययन गर्नेछ।
यसअघि भारतले पहिलोपटक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने उद्देश्य राखिएको चन्द्रयान २ हिजो प्रक्षेपण गरेको थियो।