बुटवल-भैरहवा ६ लेनअन्तर्गत शंकरनगर सडकमा राखिएका गौतम बुद्धका ५ मूर्ति तोडफोड गरिएको छ ।
तिलोत्तमा नगरपालिकाले लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर गत वैशाख १ गते शंकरपुरदेखि जोगीकुटीसम्म २–३ सय मिटरको दूरीमा बुद्धका २२ मूर्ति राखेको थियो । बुधबार राति बुद्ध मूर्ति तोडफोड गरिएका हुन् । तोडफोड गर्नेको पहिचान खुलेको छैन । तोडफोड गरिएका केही मूर्ति सडकमै फालिएका थिए ।
शान्तिका प्रतीक बुद्ध मूर्ति रातरात तोडिनु अपराधको पराकाष्ठा भएको तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले बताए । उनले भने, ‘पर्यटन प्रवर्द्धनका लागि बुद्धनगरमा राखिएको मूर्ति तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ । हामीले खबर पाउनासाथ प्रहरी प्रशासनलाई भनिसकेका छौं । हामी पनि आफ्नो तरिकाले यो विषयलाई गम्भीर रुपमा लिएर खोजी गरिरहेका छौं ।’
लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर र तिलोत्तमा नगरको ६ लेन सडकमा बुद्धका मूर्तिहरु नगरपालिकाको लगानीमा राखिएका हुन् । रातिको समयमा बुद्धको मूर्तिहरु तोडिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए ।
उनले भने, ‘सुरक्षाका युनिट परिचालित भइसकेका छन् । हामीले अनुसन्धान गर्दैछौं । अपराधी छिट्टै पत्ता लाग्छ र कानुनी कारबाहीमा पर्नेछ ।’
मूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
यसैबीच नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्ति तोडफोडप्रति दु:ख व्यक्त गरेको छ । बुधबार राति अज्ञात समूहद्वारा भएको बुद्धमूर्ति तोडफोड घटनाप्रति कांग्रेसले आपत्ति जनाएको हो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै बुद्धको मूर्तिलाई तोडफोडको भर्त्सना गरेका हुन् । ‘गौतम बुद्धको मूर्ति तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो,’ उनले भनेका छन्, ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’
कांग्रेस संसदीय दलले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ ।